-चीना थापा \ विराटनगर
मोरङमा सञ्चालित सहकारीले साढे २६ अर्वको कारोबार गरेका छन् । डिभिजन सहकारी कार्यालय मोरङले दिएको जानकारी अनुसार जिल्लामा सञ्चालित विभिन्न प्रकृतिका सहकारीले २६ अर्व ४१ करोड ५६ लाख ४७ हजार ६३ रुपैयाँको कारोबार गरेका छन् । सञ्चालित सहकारीले ८ अर्व ४८ करोड ४७ लाख ३५ हजार ७ सय ५६ रुपैया निक्षेप (बचत) संकलन गरेका छन् । जिल्लामा सञ्चालित १ हजार ९९ वटा सहकारीको कुल शेयर पुँजी २ अर्व ३८ करोड ८७ लाख ६५ हजार ३ सय ९४ रुपैया पुगेको छ । जिल्लाका सबै सहकारीको लगानी १० अर्व ७० करोड ४४ लाख ९१ हजार १ सय ६१ रहेको डिभिजन सहकारी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी जिल्लामा सञ्चालित सहकारीहरुको कोष हिसाब १ अर्व १२ करोड ५२ लाख ५३ हजार ३४ रुपैया रहेको छ भने नगद मौज्दात २१ करोड ८२ लाख ७८ हजार ५ सय ४६ रुपैया रहेको छ । त्यस्तै बैंक मौज्दात २ अर्व ५३ करोड ७३ लाख ९६ हजार ५ सय २७ रुपैया रहेको छ भने लगानी हिसाब ३६ करोड ७५ लाख २१ हजार ३ सय १७ रुपैया रहेको छ । सहकारी डिभिजन कार्यालय मोरङका सहकारी अधिकृत गोपी प्रसाद घिमिरेका अनुसार सञ्चालित सहकारीको सम्पति ९९ करोड २० लाख ४२ हजार ४ सय ५२ रुपैया रहेको छ भने कुल आम्दानी २ अर्व ३५ करोड ३७ लाख २७ हजार ८ सय ४९ रुपैया रहेको छ । कुल खर्च २ अर्व १४ करोड ४१ लाख ८३ हजार १९ रुपैया रहेको छ भने नाफा नोक्सान रकम ३३ करोड ९३ लाख ९ हजार ५ सय ३० रुपैया रहेको घिमिरेले जानकारी दिए ।
जिल्लामा सञ्चालित सबै सहकारीमा कुल ३ लाख १५ हजार ५४५ जना शेयर सदस्य रहेका छन् । जसमा १ लाख ३६ हजार ३३३ पुरुष रहेका छन् भने १ लाख ७९ हजार १६२ महिला रहेका छन् । २ हजार ३२२ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । रोजगारी पाउनेमा १ हजार १२६ जना पुरुष छन् भने १ हजार १९६ जना महिला रहेका छन् । जिल्लामा ९ हजार ११० जना संचालक रहेका छन् । जसमा ५ हजार ६३० जना पुरुष संचालक छन् भने ३ हजार ४८० जना महिला सञ्चालक छन् । जिल्लामा महिलाले मात्र सञ्चालन गरेका सहकारी १ सय ११ वटा रहेको डिभिजन सहकारीले जनाएको छ । जिल्लामा सञ्चालित विभिन्न प्रकृतिका १ हजार ९९ वटा सहकारीमा बचत तथा ऋण सहकारी ६०२, बहुउदेश्यीय सहकारी १४३, कृषि २३५, दुग्ध २३, उपभोक्ता ५, चिया कफी १, जडीबुटी ९, तरकारी तथा फलफुल १२, विधुत ३, मौरीपालन ३, शिक्षा १, संचार ४, स्वास्थ्य ३ र अन्य ४७ रहेका छन् । जिल्लामा ८ वटा संघ संचालनमा छन् ।
९३ वटा सहकारी निस्क्रिय
जिल्लामा ९३ वटा सहकारी निस्क्रिय रहेको डिभिजन सहकारीले जनाएको छ । तर खारेजी भने नगरेको डिभिजनले जानकारी दिएको छ । जिल्लाका निस्क्रिय सहकारीलाई खारेजी गर्ने भनी डिभिजनले सूचना निकालेपछि केही सहकारीका संचालकहरुले सहकारीलाई सक्रिय बनाउने भनेपछि खारेज भने गरिनहालेको सहकारी अधिकृत गोपि प्रसाद घिमिरेले जानकारी दिए । सूचना पश्चात कति सहकारी सञ्चालनमा आए, फेरी अनुगमन गरेर निस्क्रिय सहकारीलाई खारेज गर्ने घिमिरेको भनाई छ ।
सहकारी विवरण अब अनलाईनमा
डिभिजन सहकारी कार्यालय मोरङलेविगत दुई महिनादेखि सहकारी तथा गरिवि निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस कार्यक्रम) लागु गरेको छ । यो कार्यक्रम सञ्चालन भएसँगै अब जिल्लामा सञ्चालित सबै सहकारीहरुले आफ्नो गतिविधि अनलाईनमा राख्न सक्ने छन् । सहकारीहरुले डिभिजन कार्यालयमा आएर रिपोर्ट बुझाउनुपर्ने बाध्यता हट्ने छ । सहकारीले मासिक रुपमा आफ्ना रिपोर्ट अनलाईनमा अपडेढ गर्र्नु पर्ने डिभिजन कार्यालयले जनाएको छ । अहिलेसम्म ४२ वटा सहकारीले अनलाईन सेवा लिएर आफ्ना गतिविधि अनलाईनमा नै अपडेढ गरिरहेको कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालिन सबै सहकारीमा अनलाईन सेवा पुर्याईने डिभिजनका सहकारी अधिकृत गोपी प्रसाद घिमिरेले बताए । उनका अनुसार अनलाईनको पासर्वड सहकारीलाई प्रदान गरिने छ र सहकारीले आफ्नै आईडी बनाएर अपडेट गर्नुपर्ने हुन्छ ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
