समूह बनाएर साना साना बचत, ऋण, विमा, रेमिट्यान्सलगायतको सेवा प्रदान गर्ने लघुवित्त सेवा प्रदान गर्नमा सहकारी संस्थाहरु आकर्षित हुन थालेका छन् । सदस्यहरुलाई बचत तथा ऋणका साथै उनीहरुको आर्थिक तथा सामाजिक वृद्धि विकासका सेवाहरु प्रदान गर्ने सहकारी संस्थाहरु नेपालमा ग्रामीण विकास बैंक मोडलमा महिलाहरुको समूह बनाएर सेवा दिन लागेका हुन् ।
सदस्यहरुलाई व्यक्तिगत रुपमा लगानी गर्नुभन्दा सदस्यहरुको समूह बनाएर लगानी गर्दा ऋण डुब्ने जोखिम कम हुने र यस मोडलबाट सदस्यहरुलाई सेवा प्रदान गर्न समेत सजिलो हुने भएकाले सहकारीहरुले लघुवित्त मोडललाई अपनाउन थालेका हुन् । यसैगरी लघुवित्त मोडलमा काम गर्ने सहकारीलाई बाणिज्य बैंकहरुले विपन्न वर्गमा गर्नुपर्ने लगानी थोक व्याजदरमा प्राप्त हुने र विभिन्न संस्थाहरुको समेत सहयोग प्राप्त हुने भएकाले यस मोडलतर्फ आकर्षित भएको देखिन्छ ।
नेपालमा कृषि विकास बैंकमार्फत साना किसान विकास आयोजना सुरु भएको थियो । यहि कार्यक्रमलाई नेपालको पहिलो लघुवित्त कार्यक्रमका रुपमा लिइने गरिन्छ । उक्त कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि कृषि विकास बैंककै अग्रसरतमा साना किसान बैंकको स्थापना भयो र सोही बैंकमार्फत साना किसान कृषि सहकारी संस्थाको रुपमा सो कार्यक्रमलाई संचालन गरिदै आएको छ । यही कार्यक्रम अन्र्तगत साना किसान बैंकले थोक कर्जाका रुपमा साना किसान कृषि सहकारीहरुलाई सहूलियत व्याजदरमा उपलब्ध गराउदै आएको छ ।
यसैगरी लघुवित्तलाई प्रोत्साहन गर्नका लागि सरकार आफैले पाँच वटा विकास क्षेत्रमा ग्रामीण विकास बैैंक स्थापना गर्र्यो । यही बैंकमार्फत ग्रामीण क्षेत्रमा विपन्न महिलाहरुको समूह बनाई सानो बचत तथा ऋणको सेवा दिने विधिको सुरुवात भएको मान्न सकिन्छ । पछि नेपाल राष्ट्र बैंकले त्यसैगरी निजी क्षेत्रमा पनि लघुवित्त विकास बैंकलाई अनुमति दिन थाल्यो । यसैगरी नेपाल राष्ट्र बैंकले लघुवित्त सेवा संचालनका लागि सामाजिक संस्थाहरुलाई समेत अनुमति दिन थाल्यो । यहीबाट लघुवित्त सेवाले व्यापकता पाएको नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशन डा. विनोद आत्रेय बताउछन् । “नेपालमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने र गरिवी निवारण गर्ने औजारका रुपमा लघुवित्त सेवा विस्तारमा व्यापकता दिइएको हो” उनी भन्छन्, “यसबाट केही हदसम्म भएपनि नेपालको गरिवी न्यूनिकरणमा योगदान दिएको छ ।”
सहकारी एवं सामाजिक सुरक्षणका सेवाको कारोबार नै लघुवित्त सेवा हो । लघुवित्तमार्फत लघुउद्यमी साना ब्यवसायी बनाउन विभिन्न सीपमुलक तालीम, गोष्ठी, सेमिनार, वित्तीय साक्षरता तथा सामाजिक विकासको चेतना अभिवृद्धि गर्दै गरिवी निवारण गर्न सकिन्छ । गरिवी निवारणको मोडलका रुपमा नेपालमा लघुवित्त सेवाको सुरुवात भएको देखिन्छ । विषेश गरी बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका ग्रामीण क्षेत्रका किसानहरुलाई घरदैलोमा स—सानो ऋण प्रदान गर्नका लागि लघुवित्त सेवा सुरु गरिएको हो । समूह जमानीमा प्रदान गरिने यस्तो ऋणबाट उनीहरु उद्यमशिल बनी आफ्नो आर्थिस्तर माथि उकास्न सक्छन् ।
नेपालमा पनि गरिबी न्युनीकरणको अभियानमा विभिन्न खाले लघुवित्त संस्था तथा अभ्यस्तकर्ताहरु संलग्न रहेका छन् । हालसम्म नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त तीन खाले संस्थाहरु ः लघुवित्त विकास बैंक तथा वित्तीय संस्थाहरु, लघुवित्त कारोबार इजाजत प्राप्त गैरसरकारी संस्थाहरु, र लघुवित्त कारोबार गर्ने ऋण तथा बचत सहकारी संस्थाहरुले लघुवित्त सेवा दिँदै आएका छन् । देशका अति विकट तीन जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा यो लघुवित्त कार्यक्रम संचालनमा रहेका छन् । राष्ट्र बैंकको तथ्यांक हेर्दा ४२ वटा लघुवित्त बैंकहरुले १८ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याएका छन् । यसैगरी सामाजिक संस्थाबाट लघुवित्त सेवा पाउनेको हिस्सा पनि ठूलो छ ।
सहकारीको आकर्षण
समूह बनाएर वित्तीय सेवा पुर्याउने लघुवित्त मोडलमा काम गर्न पछिल्लो समयमा बचत तथा ऋण सहकारी संस्थाहरु पनि आकर्षित भएका छन् । सहकारीको कारोबार आफैमा लघुवित्त भएपनि पछिल्लो समयमा समूह मोडलमा काम गर्न थालेका छन् । सामाजिक संस्थाको रुपमा लघुवित्त सेवा सुरु गरेका केही संस्थाहरु सहकारीमा परिवर्तन भएसँगै सहकारीमार्फत लघुवित्त मोडलमा काम भएको हो । यसरी काम गर्ने संस्थामा झापाको सहकारी सहकारी हो । यसैगरी काभ्रेको विन्धवासिनी सहकारीलाई पनि लघुवित्त कारोबारमा उत्कृष्ट सहकारी मानिन्छ ।
यसैगरी काठमाडौंमा महिला सहकारी, चन्द्रागिरी, कोलमत्तेश्वर, सितापाईला, चन्द्रागिरी, उपासना, सहयात्रीलगायतका संस्थाहरुले समूह बनाएर लघुवित्त सेवा संचालन गरिरहेका छन् । सहकारीमार्फत लघुवित्त सेवा पाएका सदस्यहरुको छुट्टै तथ्यांक नभएपनि डेढ लाखको हाराहारीमा सदस्यहरुले सेवा पाएको हुनसक्ने यस क्षेत्रमा लागेका सहकारीकर्मीहरु बताउछन् । सहकारीमार्फत लघुवित्त सेवाका लागि सहकारी ऐनमा स्पष्ट रुपमा उल्लेख छैन । केही सहकारीले आफ्नो विनियममा समूह बनाएर लघुवित्त कारोबार गर्ने उल्लेख गरेका छन् भने केही संस्थाले विनियममा उल्लेख नगरी लघुवित्त सेवा गरेका छन् ।
मिनभवनस्थित सहयात्री बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अध्यक्ष खेमराज सुवेदी केही सहकारीहरुले राज्यलाई देखाउने गरी काम गरेको बताउछन् । “केही सहकारीहरुले लघुवित्त विकास बैंकलाई धक्का दिने गरी काम गरेका छन्” उनले भने, “विस्तारै अरु सहकारीहरु पनि अघि बढ्दैछन्, केही वर्षमा यो क्षेत्रमा सहकारीले प्रभावशाली उपस्थिती देखाउछ ।” लघुवित्त विकास बैंकहरुले आफ्ना ग्राहकहरुलाई अधिकतम ७ लाखसम्म लगानी गर्न सक्ने व्यवस्था छ । तर, सहकारीहरुले भने २ लाख देखि ५ लाखसम्म सिमा तोकेर लगानी गर्र्दै आएका छन् । त्यसभन्दा बढी रकम चाहिने सदस्यहरुलाई सहकारी संस्थाबाट व्यक्तिगत रुपमा ऋण दिने व्यवस्था गरिएको छ । सहकारीले लघुवित्त कारोबारीलाई सेयर बन्ने व्यवस्थामा केही सहूलियत दिएपनि सहकारीका अन्य सदस्यले पाउने सूविधामा कुनै विभेद नगरेको चन्द्रागिरी सहकारीका व्यवस्थापक विगेश श्रेष्ठले बताए ।
सहकारीका सकारात्मक पक्ष
राष्ट्र बैंकबाट अनूमतिप्राप्त लघुवित्त विकास बैंकहरुको तुलनामा सहकारीमार्फत सुरु भएका लघुवित्त सेवाका केही सुन्दर पक्षहरु पनि छन् । हालै सम्पन्न चौथो लघुवित्त समिटमा समेत सहकारीमार्फत भएको लघुवित्त सेवाको प्रशंसा समेत भएको छ । राष्ट्रिय सहकारी बैंकका लघुवित्त विभाग प्रमुख प्रमोद कुमार घिमिरे सहकारी संस्था समूदायमा आधारित, नाफा सदस्यमा पुग्ने, गाउँको पुँजी गाउँमै बस्ने र व्याजदर समेत लघुवित्त विकास बैंकको तुलनामा कम भएकाले सहकारीमार्फत भएको लघुवित्त कार्यक्रम प्रभावकारी देखिएको बताउछन् । लघुवित्त कार्यक्रमकै लागि सहकारी संस्थाहरुलाई बैंकले लगानी गरिहेको र हाल २ अर्व लगानीमा रहेको उनले जानकारी दिए ।
सदस्य केन्द्रीत : सहकारीको आधारभूत पक्ष भनेको नै सहकारी केन्द्रीत हो । त्यसैले सहकारीहरुले सदस्य बनाएर मात्र आफ्नो सेवा दिन्छ । संस्थाको सेयर सदस्य बनेपछि मात्र कारोबार गर्न पाउने भएकाले उ संस्थाको मालिक पनि हो । उसलाई संस्थाप्रति माया हुन्छ । तर, लघुवित्त संस्थाहरुले ग्राहक र मालिकको व्यवहार गर्ने भएकाले संस्थाप्रति सदस्यहरुको माया कम हुन्छ ।
नाफाको हिस्सेदार : सहकारी संस्थामा सेयर सदस्य बनेर मात्र कारोबार। गर्ने भएकोले सदस्य संस्थाको मालिक पनि हो । आफै मालिक भएपछि संस्थाको नाफामा सदस्यले पनि हिस्सा प्राप्त गर्छ । लघुवित्त बैंकहरुले गरिवको शोषण गरेर उच्च नाफा गरे भन्ने आरोप लागिरहेका बेला सहकारीहरु भने यो आरोप भन्दा माथी छन् । सहकारीकै मोडलमा पछिल्लो समयमा लघुवित्तले पनि ग्राहकहरुलाई सेयर दिनुपर्छ भन्ने आवाज उठिरहेको छ । पछिल्लो केही वर्षयता लघुवित्त संस्थाहरुलाई नाफाको निश्चित प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत गरिएको छ । सहकारी ऐनमा नाफाको १५ प्रतिशतसम्म लाभांस बाड्ने व्यवस्था भएकाले यी संस्थाहरु बैंकको तुलनामा नाफामूखि नहुने र व्याजदर समेत बैंकको तुलनामा केही कम हुने सहकारीकर्मीहरु दावी गर्छन् ।
बचतको आधार : पछिल्लो समयमा लघुवित्त विकास बैंकहरु बचत अभाव भयो भन्ने गुनासो भइरहेको छ । तर सहकारी संस्थामा स्रोतको अभाव छैन । सदस्यबाट नियमित बचत संकलन गर्ने भएकाले पनि सहकारीहरुले आफ्नै स्रोतबाट पुँजी परिचालन गरी लघुवित्त सेवा संचालन गर्न सक्ने वातावरण रहेको छ ।
व्याजदर : सहकारी संस्थाले गरेको लघुवित्त कारोबारमा व्याजदर पनि बैंकको तुलनामा कम रहेको छ । हाल सहकारीसंस्थाहरुले १४ प्रतिशतसम्ममा पनि लघुवित्त ऋण दिदै आएका छन् । तर, लघुवित्त विकास बैंकहरुले भने अत्याधिक व्याजदर लिएको गुनासोपछि राष्ट्र बैंकले हालैमात्र १८ प्रतिशत सिलिङ तोकेको छ ।
लघुवित्त नीति बनाउदै बैंक
सहकारी संस्थाहरु लघुवित्त कारोबारमा आकर्षित बन्न थालेपछि सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाका लागि लघुवित्त नीति तय गर्ने भएको छ । सहकारी संस्थाहरुले लघुवित्त सेवा कसरी संचालन, यसको मापदण्ड के हुने भन्ने नीति बनाउनका लागि बैंकका संचालक हरिहरनाथ योगीको संयोजकत्वमा समिति बनाइएको छ । उक्त समितिले नीतिको मस्यौदा बनाएर पेश गर्ने र त्यसैका आधारमा लघुवित्त सेवा संचालनसम्बन्धी नीति बनाउने बैंकका प्रवन्ध संचालक केवी उप्रेतीले जानकारी दिए ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News